
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गरेका हुन् । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।
राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै नेकपा संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए ।


उनले अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको आरोप लगाए । आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउदै अघि बढ्ने प्रचण्डले बताए ।
उनले अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पु¥याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने धारणा राखे । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र निर्णय गर्ने अधिकारको रक्षाका लागि व्यापक राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए । त्यस्तै प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । तर देश संकटमा रहेको, राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा परेको र जनताका लोकतान्त्रिक अधिकारहरू जोखिममा परेको अवस्थामा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न नेकपा नडराउने प्रचण्डले बताए ।
त्यस्तै उनले अभियानसँगै आफ्नै पार्टीलाई सुदृढ र रूपान्तरण गर्ने भन्दै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान मङ्सिर २५ गते समापन हुने प्रचण्डले बताए ।



