

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाका ४६ पहिरोपीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। वर्षौँदेखि पहिरोको जोखिमसँग संघर्ष गर्दै अस्थायी टेन्ट र टहरामा बस्दै आएका वडा नं. १ का मालागाउँ र भोकागाउँका २४ तथा वडा नं. ७ को बलौचा गाउँका २२ परिवारको पुनःस्थापनाका लागि सरकारले स्वीकृति दिएको हो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले आलिताल गाउँपालिका–१ का मालागाउँ र भोकागाउँका २४ घरपरिवार तथा वडा नं. ७ को बलौचा गाउँका २२ घरपरिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले पुनःस्थापनाका लागि स्वीकृति दिएसँगै लामो समयदेखि सुरक्षित आवासको प्रतीक्षामा रहेका परिवारको स्थानान्तरण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
वि.सं. २०७९ सालको वर्षायाममा गाउँमाथिबाट पहिरो खसेपछि मालागाउँ, भोकागाउँ र बलौचा क्षेत्रका बस्ती जोखिममा परेका थिए। घर तथा खेतीयोग्य जमिनसमेत पहिरोको जोखिममा परेपछि प्रभावित परिवार विस्थापित भएका थिए। उनीहरूले सुरुमा विद्यालयमा आश्रय लिए भने पछि अस्थायी टेन्ट र टहरामा बस्दै आएका छन्।
विस्थापित भएको लामो समय बितिसक्दा पनि सुरक्षित जग्गा र स्थायी आवासको व्यवस्था नहुँदा पीडित परिवारको दैनिकी कष्टकर बनेको छ। बालबालिका, वृद्धवृद्धा र महिलासहितका परिवारले वर्षायामको चिसो, पानी चुहिने टेन्ट तथा हिउँदको कठ्याङ्ग्रिने जाडो सहँदै अस्थायी बसोबासमा जीवन बिताउन बाध्य छन्।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको थियो। तर, पुनःस्थापनाको प्रक्रिया अघि बढ्न नसक्दा पीडित परिवार लामो समयदेखि अस्थायी टहरामै बस्दै आएका थिए।
सरकारबाट स्थानान्तरणको स्वीकृति प्राप्त भएसँगै वर्षौँदेखि सुरक्षित आवासको प्रतीक्षामा रहेका ४६ परिवारको पुनःस्थापनाले गति लिने आशा गरिएको छ। अब निर्णय कार्यान्वयनसँगै पहिरोपीडित परिवारले सुरक्षित बासस्थान पाउने अपेक्षा गरिएको छ।



