
डडेल्धुरा : आलिताल गाउँपालिका–१, पिपल निवासी दानबहादुर सार्कीको खेत जोत्ने क्रममा लडेर मृत्यु भएपछि आर्थिक संकटमा परेको परिवारलाई स्थानीय, विद्यालय परिवार तथा सहयोगी मनहरूले आर्थिक र शैक्षिक सहयोग गरेका छन्।
दानबहादुर आफ्नै खेतबारी जोत्ने क्रममा लडेर ज्यान गुमाउन पुगेका थिए। उनको असामयिक निधनले श्रीमतीसहित नाबालक छोराछोरीको जीवनमा ठूलो पीडा र आर्थिक संकट निम्त्याएको छ। परिवारको दुःखलाई केही भए पनि कम गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूले सहयोग जुटाएका हुन्।


श्री भुवनेश्वरी माध्यमिक विद्यालय, आलिताल–१ का शिक्षक तथा कर्मचारीहरूले सामूहिक रूपमा मृतककी छोरी कमला सार्कीलाई नगद १० हजार १ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। विद्यालय परिवारले आर्थिक सहयोगसँगै आवश्यक स्टेशनरी सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
त्यस्तै, मृतकको परिवारलाई राहत पुर्याउने उद्देश्यले समाजसेवी सुरत बहादुर चन्दको पहलमा विभिन्न सहयोगी दाताहरूबाट करिब ८६ हजार रुपैयाँ संकलन गरी मृतककी श्रीमतीलाई हस्तान्तरण गरिएको छ। सहयोग रकमले नाबालक छोराछोरीको पालनपोषण, शिक्षा तथा दैनिक जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
दुःखको घडीमा पीडित परिवारको साथमा उभिएका विद्यालय परिवार, सहयोगी दाता तथा सबै सद्भाव राख्ने व्यक्तिहरूप्रति मृतकका परिवारले आभार व्यक्त गरेका छन्। आर्थिक सहयोगले अपूरणीय क्षति त पूर्ति गर्न नसके पनि विपत्तिमा परेका परिवारलाई नयाँ आशा र साहस प्रदान गरेको छ।



