
डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रवर्द्धनका गर्नका लागि SESP कार्यक्रम अन्तर्गत दुई दिने calibration toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यक्रम अन्तर्गत आलिताल गाउँपालिकाको आयोजनामा र सामुदायिक विकास केन्द्र (CDC) डोटीको प्राविधिक सहयोगमा दुई दिने कार्यशाला सम्पन्न भएको हो।

उक्त कार्यक्रम विद्यालय शिक्षा क्षेत्र योजना आधारित रहेर, विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न तथा स्थानीय तहको शिक्षा योजना अद्यावधिक गर्न आयोजित गरिएको थियो।

कार्यक्रममा शिक्षा योजना निर्माणको उद्देश्य, महत्व र औचित्यताबारे छलफल गरिनुका साथै सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी गहन छलफल र विश्लेषण गरिएको थियो। कार्यशालाको प्रारम्भमा सामुदायिक विकास केन्द्र डोटीका जिल्ला अधिकृत लोक राज पन्तले परियोजना र यसको उद्देश्यबारे प्रष्ट पार्नु भएको थियो भने कार्यशालाको सहजीकरण आलिताल गाउँपालिकाका शिक्षा अधिकृत देव राज पन्तले गर्नुभएको थियो।

कार्यक्रममा पालिकाको शैक्षिक योजना निर्माण, लैङ्गिक समानता, सामाजिक समावेशिता, र सिमान्तकृत वर्गका समुदायहरूको शिक्षामा समतामूलक पहुँच पुर्याउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक पूर्वाधार विकास, र बालमैत्री वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, सहभागीहरूले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधार गर्न निर्माण हुने योजना तथा नीतिहरूलाई प्रभावकारी कार्यान्वयनको प्रतिवद्धता जनाएका छन्।
गाउँपालिकाको सभाहलमा आयोजना गरिएको यस कार्यक्रममा पालिका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू, शिक्षा शाखाका प्रमुख तथा पदाधिकारी, महिला तथा बालबालिका शाखाका प्रमुख तथा विभिन्न विद्यालयका शिक्षक, र पालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।



