

प्रयागराज (भारत) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन्।
‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ। उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले भरिएको स्थलबाट पीडितलाई बोकेर लैजाँदै गरेको देखिएको थियो।
प्रहरी अधिकारीले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो। दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए। बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो। उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो।



