आलिताल-६ को वडा कार्यालय धिमडाबाट घोडेखान नसार्न अदालतको अन्तरिम आदेश

sc mahendra

डडेल्धुरा — आलिताल गाउँपालिका वडा नं. ६ को केन्द्र धिमडाबाट घोडेखान ठूलो पोखरा सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ।

अदालतले वडाको केन्द्र स्थानान्तरणको विषयमा उठेका विवादलाई ध्यानमा राख्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। मिसिल अध्ययन र दुवै पक्षका अधिवक्ताहरुबीच छलफलपछि यो आदेश आएको हो।

रिट निवेदकका तर्फबाट अधिवक्ता प्रकाश बहादुर पाण्डेय र शंकर बहादुर विष्ट उपस्थित थिए भने विपक्षी आलिताल गाउँपालिकाको तर्फबाट अधिवक्ता दल बहादुर बोहरा र महेश राज भट्टले पक्षधरता प्रस्तुत गरेका थिए।

आदेशका कारणहरू:

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा केन्द्र हेरफेर गर्दा वडा समितिको परामर्श र दुई तिहाइ बहुमत आवश्यक पर्ने कानूनी व्यवस्था पालना नभएको।

वडा नं. ६ को कार्यालय हालसम्म धिमडामा सञ्चालन हुँदै आएको र त्यहाँ कार्यालय भवनका लागि पहिल्यै जमिन पास भइसकेको तथ्य।

२०७७ सालमा स्थानीय कर्ण बहादुर साउदले निशुल्क जमिन दान गरेका थिए, तर हालसम्म कार्यालयको आफ्नै भवन नबन्दा विगत ८ वर्षदेखि धिमडाको एक निजी घर भाडामा लिई वडा कार्यालय सञ्चालन हुँदै आएको।

वडाध्यक्ष कुम्भर बुढाको पत्राचार अनुसार धिमडामा नै वडा केन्द्र रहनुपर्ने माग।

अन्तिम निर्णय नआउन्जेल स्थगित

विपक्षी गाउँपालिकाको लिखित जवाफ परेपछि अदालतले पुनर्विचार गर्ने गरी आदेश जारी गरेको छ। तत्कालका लागि वडा केन्द्र धिमडाबाट घोडेखान ठूलो पोखरा सार्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको हो।

राजनीतिक तथा स्थानीय प्रतिक्रिया

आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्की र वडाध्यक्ष कुम्भर बुढाले पनि छलफलमा भाग लिएका थिए। स्थानीयवासीले अदालतको निर्णयलाई स्वागत गर्दै जनताको सल्लाहलाई सम्मान गर्न आग्रह गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.