डडेल्धुरा : डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिका–२ किमाडका ४२ वर्षीय अमर थापा हराएको १० दिनपछि जीवित अवस्थामा फेला परेका छन्। माघ २० गतेदेखि बेपत्ता भएका थापा स्थानीय महाभारतलेक क्षेत्र नजिकैको ढुन्ढुने खोलामा आज बिहान फेला परेका हुन्।
थापा हराएपछि तीन दिनसम्म कुनै जानकारी नभएपछि स्थानीय वडा अध्यक्ष प्रमोद मल्लले सामाजिक सञ्जालमार्फत खोजी कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। खोजीका क्रममा उनको मोबाइल र जुत्ता मात्र भेटिएपछि घटना रहस्यमय बनेको थियो।
घटनाको गम्भीरताका कारण जिल्ला प्रहरी कार्यालय डडेल्धुराले माघ २८ गतेदेखि औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको थियो। प्रहरी र स्थानीयको निरन्तर खोजी प्रयासपछि उनी गम्भीर शारीरिक अवस्थासहित जीवित फेला परेका हुन्।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार थापा कमजोर अवस्थामा थिए, नांगो खुट्टामा घाउहरू देखिन्थे, र बोल्न सक्ने अवस्थामा थिएनन्। फेला परेपछि उनलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको वडा अध्यक्ष मल्लले जानकारी दिए।
