डडेल्धुरा : डडेल्धुराका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) अन्तर्गत गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरिएको छ। जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि तथा दुर्बल पक्षहरूको पहिचान गर्दै स्वमूल्याङ्कन प्रक्रिया सम्पन्न गरेको हो।
यो स्वमूल्याङ्कनले स्थानीय तहहरूलाई विकास, सुशासन सुधार, र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम तयार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार डडेल्धुराका सात स्थानीय तहको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।

स्वमूल्याङ्कनको नतिजाअनुसार अजयमेरु गाउँपालिका ९८ अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। भागेश्वर गाउँपालिका ९२ अंक सहित दोस्रो स्थानमा रहँदा, आलिताल गाउँपालिका ९१।७५ अंक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
तेस्तै, नवदुर्गा, गन्यापधुरा, र परशुराम गाउँपालिकाले क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गरेका छन्। जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका भने ७५ अंक सहित पुछारमा रहेको छ।
स्थानीय तहहरूको कार्यसक्षमतालाई मापन गर्ने यो स्वमूल्याङ्कनले समग्र जिल्लाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ। अगामी चरणमा सम्बन्धित स्थानीय तहहरूले आफ्ना दुर्बल पक्ष सुधार गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ।
