४ दिनदेखि सम्पर्कविहीन आलितालकी कमलाको दिल्लीबाट सकुशल उद्धार

sc mahendra

डडेल्धुरा – चार दिनदेखि सम्पर्कविहीन रहेकी आलिताल गाउँपालिका-३ की २७ वर्षीया कमला बोहराको भारतको दिल्लीबाट सकुशल उद्धार गरिएको छ।

दियालो खबरले प्रशारण गरेको समाचारअनुसार, गत माघ ३० गतेदेखि बेपत्ता भएकी कमलालाई खोजी गर्ने क्रममा भारतको गाजियाबादमा बेहोस अवस्थामा फेला पारिएको थियो। भारतीय प्रहरीले उनलाई उद्धार गरी किन इन्डिया नामक सामाजिक संस्थालाई जिम्मा दिएको थियो। नागरिकताको आधारमा सम्पर्क गरेपछि उक्त संस्थाले कमलालाई नेपाल ल्याएर परिवारलाई जिम्मा लगाएको हो।

कमलालाई आज आलितालमै पुगी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको रोहबरमा उनका श्रीमान् ललित बोहरालाई बुझाइएको संस्थाका अध्यक्ष नवीन जोशीले जानकारी दिए।

फेला परेकी कमला हालसम्म केही नबोलेको र मानसिक तथा शारीरिक रूपमा अस्वस्थ देखिएकाले विस्तृत जानकारी प्राप्त हुन नसकेको आलिताल प्रहरी इन्चार्ज धनसिंह धामीले बताएका छन्।

यसैबीच, श्रीमान् ललित बोहराले गाउँकै गणेश मडै र उनकी श्रीमती लाली मडैले कमलालाई भारत लगेको आशंका व्यक्त गरेका छन्। तर, गणेश मडै दम्पतीले फेसबुकमार्फत आफूहरू निर्दोष रहेको दाबी गरेका छन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.