धनगढी – कैलाली जिल्लामा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरस्थित बागेश्वरी सामुदायिक वनमा मृत फेला परेका छन्।
प्रहरीका अनुसार कामीको शव दिउँसो करिब ४ बजेतिर फेला परेको थियो। शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ। घटनाको कारण खुल्न नसकेकोले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
त्यस्तै, कैलालीकै जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। उनी दिउँसो ३ बजेतिर खटियामा मृत फेला परेको डीएसपी बोहराले जानकारी दिए। कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
प्रहरीले दुवै घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।
