धनगढी, कैलाली – जिल्ला प्रहरी कार्यालय, कैलालीले ३० लाख ८० हजार मूल्य बराबरका गाडीसहित नौ वटा मोटरसाइकल भन्सार कार्यालय पठाएको छ।
धनगढी उपमहानगरपालिका–७ बाट प्रहरीले बागमती प्रदेश ०१–०३१ च २७२६ नम्बरको चोरीको स्कारपियो नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले नियन्त्रणमा लिएको उक्त गाडीको मूल्य २० लाख निर्धारण गरिएको छ। यातायात व्यवस्था कार्यालय, ललितपुरबाट प्रहरीले मागेको इन्जिन नम्बर र च्यासिस नम्बरले मेल नखाएपछि उक्त गाडी भन्सार कार्यालय पठाइएको हो।
त्यसैगरी, प्रहरीले १० लाख ८० हजार मूल्य बराबरका अन्य नौ वटा मोटरसाइकल पनि भन्सार कार्यालय, कैलालीमा बुझाएको छ। धनगढी उपमहानगरपालिका–९ बाट भारतीय नम्बर प्लेट युपी १४ एफडब्लु ३५८१ सहित बा ९० प २३४०, बा ९७ प ५०४६, से ६ प ९३२७, सुदूरपश्चिम प्रदेश ०१–०११ प १६८७, से १ प ७४११, से २ प ३७३३, बागमती प्रदेश ०२–०२० प ७९४ र सुदूरपश्चिम प्रदेश ०१–०१० प ८५६६ नम्बरका मोटरसाइकल भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
प्रहरीका अनुसार चोरी तथा अवैध रूपमा भित्र्याइएका सवारीसाधनहरू नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
