फागुन,१३ बागलुङमा जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।
जिप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिए ।
घाइतेमध्ये एक जनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताए ।
