
रमेश बहादुर सिंह, बझाङ
बझाङ जिल्लाको मष्टा गाउँपालिकामा रहेको कुलमष्टजन माध्यमिक विद्यालय, भातेखोको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशी द्वारा भव्य रूपमा उद्घाटन गरिएको छ। विद्यालय परिवारले माननीय जोशीलाई विशेष सम्मानसहित स्वागत गर्दै औपचारिक कार्यक्रमको आयोजना गरेको थियो।


कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर खड्का रहनुभएको थियो। अन्य अतिथिहरूमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, सरकारी कार्यालयका प्रमुख, वडा अध्यक्षहरू लगायत जिल्लाका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापकले अतिथिहरूलाई स्वागत गरे भने कार्यक्रम सञ्चालन शिक्षक बिरेन्द्र बहादुर सिंह र महादेव कठायत ले गर्नुभएको थियो। विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन प्रधानाध्यापक मोहन थापा ले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा सत्यवादी माध्यमिक विद्यालय, भोपुरका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशी, मष्टा गाउँपालिका वडा नं. ४ का अध्यक्ष उत्तम बहादुर जोशी र वडा नं. ६ का अध्यक्ष शिवराज बोहराले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहलहरूबारे धारणा राख्नुभयो।
मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले विद्यालयको गुणस्तरीय शिक्षामा सुधार ल्याउने र भौतिक पूर्वाधारको विकासमा योगदान दिने प्रतिबद्धता जनाउनुभयो। साथै, गाउँपालिकाले ६ देखि १६ वर्षसम्मका टुहुरा बालबालिकालाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको जानकारी समेत गराउनुभयो।

कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशीले विद्यालयको प्रारम्भिक अवस्थाको स्मरण गर्दै हाल विद्यालयले उल्लेखनीय प्रगति गरेको बताउनुभयो। विद्यालयका पहिलो विद्यार्थीमध्ये एक भएको नाताले आफू सधैं विद्यालयको विकासका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै उहाँले विद्यालयसँगै रहेको आफ्नो नाममा रहेको जमिन भवानी आधारभूत विद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर खड्का का अनुसार विद्यालयको ६५औं वार्षिकोत्सव तीन दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइनेछ, जसको समापन फागुन १४ गते, बुधबार हुनेछ।



