डडेल्धुरा – डडेल्धुराको अमरगढी–८ र नवदुर्गा–१ को संगमस्थल शैलेश्वरधाममा विश्वकल्याण विराट महायज्ञ आयोजना हुने भएको छ।
विश्व शान्ति र राष्ट्रको समृद्धिको कामना गर्दै शैलेश्वर महादेवमा आयोजना गर्न लागिएको यस महायज्ञको व्यवस्थापनका लागि १२८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिका अध्यक्ष तथा अमरगढी–७ का वडाध्यक्ष खडक बहादुर बोहराका अनुसार महायज्ञ आगामी चैत्र २० गतेदेखि सुरु हुनेछ।
महायज्ञका प्रमुख ब्राह्मण जयप्रसाद जोशीका अनुसार ५१ जना ब्राह्मणहरूले ११ दिनसम्म निरन्तर पूजा–आराधना गर्नेछन्। साथै, महायज्ञमा १ हजार ८ कलश स्थापना गरिनेछ।
धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको यस विराट महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिएको छ।
