सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न
पाँचौँ दीक्षान्त समारोहमा ३७२ विद्यार्थी दीक्षित

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ, जसमा ३७२ विद्यार्थी दीक्षित भएका छन्।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञान संकायका स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले उपाधि प्राप्त गरे।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताए। उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्न आफूले पहिलेदेखि नै पहल गरिरहेको उल्लेख गरे।
त्यसैगरी, उनले डडेल्धुराको परशुराम क्षेत्र जोड्ने पुल र सीमा क्षेत्रमा निर्माण हुने अन्य पुलबारे समेत चर्चा गरे। आफ्नो अघिल्लो कार्यकालमा भारतीय समकक्षीसँग यी विषयमा छलफल गरिसकेको बताउँदै उनले पक्की पुल निर्माणका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग, दैजी(छेला औद्योगिक क्षेत्र र दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम पनि चाँडै सुरु गरिने जानकारी दिए। साथै, सुक्खा बन्दरगाह निर्माणका लागि भारत सरकारसँग छलफल जारी रहेको बताए।