डडेलधुरा : नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघले सोमबार डडेलधुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।
उक्त घटनामा पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी तथा तोडफोड भएको छ। साथै, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा प्रहार गरी क्षति पुर्याइएको र हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको महासंघले जनाएको छ।
यसैगरी, पत्रकार दिनेश गौतम आक्रमणमा परी गम्भीर घाइते भएका छन् भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ।
महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षतिग्रस्त सञ्चारगृहलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी, विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न तथा भविष्यमा सञ्चारकर्मीहरूको सुरक्षाका लागि उचित प्रबन्ध गर्न पनि महासंघले आग्रह गरेको छ।
महासंघले आफ्ना मागहरू एक साताभित्र सम्बोधन हुनुपर्ने बताउँदै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मत बहादुर सिंहद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रताको सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।
