डडेल्धुरा – नेकपा एमालेका नेता तथा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले हाल राजधानी केन्द्रित शिक्षक आन्दोलनप्रति आफ्नो धारणा सामाजिक संजाल मार्फत् सार्वजनिक गरेका छन्। उनले शिक्षक महासंघद्वारा अगुवाइ गरिएको आन्दोलनलाई संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
चैत्र २५ गते देखि शिक्षकहरू आफ्ना पेशागत मागहरू लिएर सडक आन्दोलनमा छन्। यद्यपि सरकारले संसद अधिवेशन बोलाइसकेको र उक्त अधिवेशनमै शिक्षा सम्बन्धी विधेयक पेस गर्ने तयारी भइरहेको अवस्थामा संवादमार्फत समाधान खोज्नुपर्ने उनले बताएका छन्।
“सरकारले सम्भव हुने मागहरू आगामी बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको छ,” बोहराले भने, “यसकारण आन्दोलन छाडेर संवादकै माध्यमबाट समाधानतर्फ अघि बढ्नु अहिलेको उपयुक्त विकल्प हो।”
उनले आन्दोलनका कारण विद्यालयहरूमा भर्ना प्रक्रिया ढिला भएको र कक्षा १२ को परीक्षा प्रभावित हुने अवस्था देखिएको भन्दै आम नागरिकको अधिकार उल्लंघन नहुने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।
बोहराले आन्दोलनमा देखिएको अराजक नाराबाजीप्रति चिन्ता व्यक्त गर्दै भने, “आन्दोलन बहकिने वा अराजक हुने अवस्था सिर्जना हुनु हुँदैन। नागरिकले माग राख्ने ठाउँ राज्य हो, र राज्यले पनि आफ्नो क्षमताअनुसार सम्बोधन गर्ने प्रयत्न गरिरहेको छ।”
शिक्षा मन्त्रीको राजीनामापछि आन्दोलनकारीहरूले देखाएको व्यवहारप्रति टिप्पणी गर्दै उनले भने, “मन्त्रीलाई ‘नालायक’ भन्दै नाराबाजी गरिएको थियो, अहिले राजीनामा दिँदा फेरि गोहीका आँसु झारिएको जस्तो नाटक देखिएको छ, जुन राम्रो अभ्यास होइन।”
उनले सरकार र शिक्षक महासंघबीच छिटो सहमति भई आन्दोलनको समाधान खोज्नुपर्नेमा जोड दिँदै ढिलाइ भए थप समस्या निम्तिन सक्ने चेतावनी दिएका छन्। “सहमति भएर आन्दोलन बिसाउनुको विकल्प छैन,” उनले भने, “बेलैमा ध्यान दिन सक्नुहोस्, शुभकामना छ।”