डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–५ मा आजदेखि २० जना महिलालाई लक्षित गर्दै ४५ दिने हाते होजियारी बुनाइ तालिम सुरु गरिएको छ।
उक्त तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, महेन्द्रनगर कञ्चनपुरको आयोजनामा तथा आलिताल गाउँपालिका वडा नं. ५ को सहकार्यमा संचालनमा आएको हो। तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउनु रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, तालिमले महिलाहरूको सीप अभिवृद्धि गराउनुका साथै उनीहरूलाई भविष्यमा साना तिना व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ।
