
रमेश बहादुर सिंह, बझाङ
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र सैनभैरव कालिका कृषक समूह, तलकोट गाउँपालिका–१ को सहकार्यमा सञ्चालित १२ हप्ते कृषक दिवस तथा पाठशाला कार्यक्रम बिहीबार सम्पन्न भएको छ।


२०७८ माघ ५ गतेदेखि शुरु भएको उक्त कार्यक्रम २०८२ साल जेठ १ गते सम्पन्न भएको हो। कार्यक्रम तलकोट गाउँपालिका–१ को घटेवगरमा सञ्चालन गरिएको थियो, जसमा समुहका ४२ जना कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत कृषकहरूलाई आलु खेतीसम्बन्धी विविध आधुनिक तथा परम्परागत विधिबाट तालिम दिइएको थियो। ड्याम बनाएर, प्लास्टिकभित्र राखेर तथा परम्परागत तरिकाबाट आलु खेती गर्ने तरिका सिकाइएको थियो। तालिम अवधिभर कार्डिनल आलु, खुमल सेतो र बझाङको स्थानीय जातका गरी तीन किसिमका आलु वितरण गरिएको थियो। साथै, हरेक हप्तामा आलुमा लाग्ने रोग, झारपात, मित्र र सत्रु किराका विषयमा जानकारी दिइएको थियो।

सैनभैरव कालिका कृषक समूहकी एक सदस्यका अनुसार, १० वर्ग मिटर क्षेत्रफलमा ४८ केजी आलु उत्पादन गरिएको छ। तालिमबाट कृषकहरूले आधुनिक विधिबाट उत्पादन वृद्धि गर्नसक्ने सीप हासिल गरेको उनी बताउँछिन्।
कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष किट्टी देवी रावलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. १ स्थित नमूना आधारभूत विद्यालयकी शिक्षिका अम्बिका मल्ल बम रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा परियोजना इकाई बझाङका प्रमुख चरित्र नारायण यादव सहभागी हुनु भएको थियो। कार्यक्रम सञ्चालनको जिम्मा कर्ण ऐरले लिनुभएको थियो।
विशिष्ट अतिथि यादवले कार्यक्रममा बोल्दै भन्नुभयो, “कृषि केवल जीविकोपार्जनको माध्यम होइन, यो आत्मनिर्भरता र समृद्धिको मेरुदण्ड हो। हामीले आधुनिक कृषि प्रणाली आत्मसात् गरेर, स्थानीय स्रोत र सीपको प्रयोगद्वारा कृषकलाई आत्मनिर्भर बनाउनुपर्छ। जब किसान सबल हुन्छ, तब राष्ट्र समृद्ध हुन्छ। हामी धेरै बोल्दैनौं, काम गरेर देखाउँछौं।”
समापन समारोहमा सहभागी कृषकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक र समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बझाङले जिल्लाका १२ वटै स्थानीय तहमा विभिन्न कृषक समूहहरू बनाउँदै सहुलियतमा आलु वितरण, तालिम तथा प्रविधि सहयोग जस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ। बझाङ जिल्लामा आलुमा आत्मनिर्भरताको लक्ष्यमा यो परियोजनाले महत्त्वपूर्ण योगदान दिएको कृषकहरूले बताएका छन्।



