
डडेल्धुरा, शनिबार — डडेल्धुरामा आज एक दिने शेयर बजारसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शेयर बजारको सैद्धान्तिक र व्यवहारिक पक्षमा केन्द्रित थियो।
मुख्य प्रशिक्षकका रूपमा शेयर बजार विश्लेषक सुवास चन्द्र भट्टराईले प्रशिक्षण दिँदै सहभागीहरूलाई लगानी रणनीति, जोखिम व्यवस्थापन र सम्भावित प्रतिफलका विषयमा जानकारी गराए। उनले भनाइमा, “शेयर बजारमा लहैलहैमा प्रवेश गर्दा घाटा व्यहोर्न सकिन्छ, तर सचेत र जानकारीसाथ लगानी गरेमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ।” साथै उनले कम्पनीको वित्तीय विवरण, बजार मूल्याङ्कन र समग्र अवस्था बुझेर मात्र लगानी गर्ने सुझाव पनि दिए।

कार्यक्रममा त्रिशक्ति सेक्युरिटिज लिमिटेड, पुतलीसडक, काठमाडौँका मार्केटिङ प्रमुख दया लोहनीले पनि सम्बोधन गर्दै डडेल्धुराको युवाहरूमा देखिएको सहभागिता उत्साहजनक भएको बताए। उनले भने, “यहाँको सहभागिता देख्दा भविष्यमा शाखा विस्तारको सम्भावना देखिएको छ।”


सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा डडेल्धुरा जेसीज २०१५ का अध्यक्ष लालमणी पन्तले शेयर बजार भविष्यको लागि भरपर्दो लगानी विकल्प भएको उल्लेख गरे। उनले आफूले गरेको व्यक्तिगत लगानी अनुभव पनि सहभागीहरूसँग बाँडे।
उक्त अनुशिक्षण कार्यक्रम त्रिशक्ति सेक्युरिटिज लिमिटेडको आयोजनामा तथा डडेल्धुरा जेसीजको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता डडेल्धुरा जेसीज २०२५ का अध्यक्ष जेसी मोहन देउवाले गरेका थिए।
कार्यक्रममा स्थानीय बैंकका प्रबन्धक, शिक्षक, व्यवसायी, निर्माण क्षेत्रका प्रतिनिधि र पत्रकारहरू सक्रिय रूपमा सहभागी भएका थिए।



