ट्राफिक सुधारतर्फ डडेल्धुराको कदम : मुख्य बजारमा जेब्रा क्रसिङ सुरु

sc mahendra

डडेल्धुरा, असार १३ — ट्राफिक सुधारको लागि डडेल्धुराको मुख्य बजारमा जेब्रा क्रसिङ सुरु गरिएको छ । पहिलोपटक जिल्लाको मुख्य बजार क्षेत्रमा जेब्रा क्रसिङ निर्माण थालिएको छ, जुन केवल सडकचित्रको परिवर्तन मात्र नभई पैदलयात्रु र चालकबीचको उत्तरदायित्व र संयोजनको सुरुआत पनि हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अगुवाइमा बिहीबारदेखि बागबजार, बसपार्क, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा जेब्रा क्रसिङ निर्माण सुरु गरिएको छ। यो सुरुआतलाई ‘सडक अनुशासन र नागरिक सचेतना’ अभियानको थालनीका रूपमा हेरिएको छ।

प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार, सवारी र पैदलयात्रुको चाप अत्यधिक हुने क्षेत्रहरूमा यस्ता संरचनाको खाँचो विगतदेखि महसुस भइरहेको थियो। उनले भने, “सडक प्रयोगकर्ताहरूको सुरक्षामा ध्यान दिँदै जेब्रा क्रसिङ बनाइएको हो। अब चालक र पैदलयात्रु दुवैले आ–आफ्नो जिम्मेवारी अनुसार सडक प्रयोग गर्ने वातावरण बन्नेछ।”

यस अभियानमा जनचेतनामूलक सूचना बोर्डहरूको पनि व्यवस्था गरिएको छ, जसले पैदलयात्रुलाई पार गर्ने उचित स्थान जानकारी दिनेछ भने चालकलाई समयमै सावधानी अपनाउन प्रेरित गर्नेछ।

यसलाई डडेल्धुरामा ट्राफिक व्यवस्थापनको नयाँ युगको थालनीका रूपमा हेरिएको छ। स्थानीयवासी, विद्यार्थी, व्यापारी तथा दैनिक यात्रुहरूले यसलाई स्वागतयोग्य कदम भन्दै अभियानलाई अन्य भीडभाड क्षेत्रसम्म विस्तार गर्न आग्रह गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.