
काठमाडौँ – सोमबार काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा १७ र इटहरीमा २ जनाको मृत्यु भएसँगै गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन्। देशभर ३ सयभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेपछि कांग्रेस पार्टीभित्रै सरकारप्रतिको असन्तुष्टि तीव्र बनेको छ। कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताका आधारमा गृहमन्त्रीलाई राजीनामा दिनुपर्ने माग राखेका थिए।


बैठकमा सभापति शेरबहादुर देउवा मौन बसेका बेला गृहमन्त्री लेखकले आफू राजीनामा दिने जानकारी दिँदै मन्त्रिपरिषद् बैठकमा पुगेको स्रोतले जनाएको छ। यसअघि कांग्रेस नेता शेखर कोइरालाले केवल गृहमन्त्रीको राजीनामा पर्याप्त नहुने भन्दै सम्पूर्ण पार्टी नै सरकारबाट अलग हुनुपर्ने धारणा राखेका थिए।
सडकमा ज्यान गुमाएका युवाको रगतले देशभित्र मात्र होइन, पार्टीभित्र पनि ठूलो प्रश्न खडा गरेको छ। प्रदर्शनकारीका मागलाई सम्बोधन गर्नुअघि सुरक्षाकर्मीको गोलीले १९ जीवन समाप्त भएको घटनाले सरकारको जिम्मेवारीबारे गम्भीर बहस सुरु भएको छ।
पार्टीभित्र चर्किएको असन्तुष्टि, विपक्षी दलको आलोचना र जनआक्रोशबीच गृहमन्त्री लेखकको राजीनामा सत्ताको स्थायित्वका लागि नयाँ प्रश्न खडा गर्ने निश्चित देखिन्छ।



