डडेल्धुरा : आलिताल गाउँपालिका–८ मा रहेको दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का १०० जना विद्यार्थीलाई लक्षित गरी डिजिटल सेक्युरिटी तथा कानुनी साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ।
आलिताल गाउँपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा रङुन मिडिया हाउसको आयोजनामा सम्पन्न उक्त तालिम डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखिँदै आएका जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

तालिममा विद्यार्थीलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, इन्टरनेट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, डिजिटल माध्यमका फाइदा र बेफाइदा, साइबर अपराध, फेक आईडी, अनलाइन ठगी, व्यक्तिगत सूचना तथा फोटोको दुरुपयोग, पासवर्ड सुरक्षा र डिजिटल फुटप्रिन्ट लगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो। अनलाइनमा देखिने शंकास्पद गतिविधि चिन्ने तरिका र त्यस्ता अवस्थामा अपनाउनुपर्ने उपायबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिइएको थियो।

यसैगरी, सोही कार्यक्रममा विद्यार्थीलाई कानुनी साक्षरता सम्बन्धी जानकारी समेत दिइएको थियो। आलिताल गाउँपालिकाका सूचना अधिकारी नवराज ओझाले प्रशिक्षण दिँदै साइबर अपराधसँग सम्बन्धित कानुनी व्यवस्था, पीडित भएमा प्राप्त गर्न सकिने कानुनी सहायता, उजुरी दिने प्रक्रिया तथा स्थानीय तहबाट सहयोग कसरी लिन सकिन्छ भन्नेबारे जानकारी गराएका थिए। उनले डिजिटल माध्यमको दुरुपयोगबाट समस्या परेमा डराउनुपर्ने अवस्था नभएको भन्दै कानुनले नागरिकलाई संरक्षण गर्ने व्यवस्था गरेको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै आलिताल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष देउवाले अहिलेको समय पूर्ण रूपमा डिजिटल युग भएको उल्लेख गर्दै डिजिटल प्रविधिबारे सही ज्ञान विद्यार्थी वर्गमा पुर्याउनु अत्यन्त आवश्यक रहेको बताए। डिजिटल प्लेटफर्मको गलत प्रयोगका कारण समाजमा विभिन्न किसिमका अपराध र समस्या बढ्दै गएको उदाहरण प्रस्तुत गर्दै उनले विद्यार्थीलाई डिजिटल माध्यमको सही सदुपयोग गर्न आग्रह गरे। साथै, यस्ता तालिमहरूले विद्यार्थीलाई सचेत र जिम्मेवार डिजिटल नागरिक बनाउने विश्वास व्यक्त गरे।

तालिमका प्रशिक्षक तथा पत्रकार शेर बहादुर भण्डारी र भक्त बहादुर गाहाले डिजिटल सुरक्षाको महत्वबारे प्रकाश पार्दै आजको समयमा डिजिटल साक्षरतासँगै डिजिटल सुरक्षा अनिवार्य विषय बनेको बताए। उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनीयता सुरक्षित राख्ने तरिका, अनजान लिंक तथा म्यासेजबाट जोगिने उपाय र अनलाइन बुलिङबाट बच्ने उपायबारे जानकारी दिएका थिए।

तालिममा सहभागी विद्यार्थीहरूले डिजिटल सुरक्षा र कानुनी जानकारी दुवै विषयमा नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोग गर्दा थप सतर्कता अपनाउने बताएका छन्।

आयोजक रङुन मिडिया हाउसले आगामी दिनमा पनि विद्यार्थी, अभिभावक तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता, डिजिटल सुरक्षा र कानुनी सचेतना सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।


