डडेल्धुरा : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आलिताल शाखाले आफ्ना सदस्यको परिवारलाई सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।
आलिताल गाउँपालिका–५ भित्रीसेन स्थित केन्द्र नं. २६५६ की सदस्य जानकी देवी बिष्टका श्रीमान स्वर्गीय कृष्ण सिंह बिष्टको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आयोजित श्रद्धाञ्जली सभामा सहकारी संस्थाले राहतस्वरूप रु ३ लाख ९ हजार ७ सय ६७ बराबरको चेक हस्तान्तरण गरेको हो।
सहकारी संस्थाको सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा बापत उक्त रकम सदस्य जानकी देवी बिष्टलाई प्रदान गरिएको शाखा प्रमुख सुरजकला शाहीले जानकारी दिइन् । कार्यक्रममा सहभागी वक्ताहरूले सहकारीले सदस्यको दुःखको समयमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताएका थिए।
श्रद्धाञ्जली सभामा आलिताल शाखाका शाखा प्रमुख शाही सभाध्यक्ष रहेकी थिइन् भने आलिताल गाउँपालिका–५ का वडा अध्यक्ष डम्बर बहादुर ढाँट प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा सहकारीका सेयर सदस्य, स्थानीयवासी तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वर्गीय कृष्ण सिंह बिष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।
