कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन्।
मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिक हुलाकी सडकमा बाघले मोटरसाइकलमाथि आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्।
बाघको आक्रमणबाट बेलौरी नगरपालिका–९ खजुवाका मोटरसाइकल चालक वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स तथा १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ७ः३० बजेतिर बाघले चालक ठगुन्नाको हातमा आक्रमण गरेपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
त्यस्तै, पछाडि सवार उनकी श्रीमती कल्पना र छोरा रियान्सको टाउको, अनुहार तथा खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। १४ वर्षीया आरुसी साहुको भने टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको बताइएको छ।
घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
