जेष्ठ १४ डडेल्धुरा : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलोपटक पहाडी जिल्ला डडेल्धुरामा आयोजना गरिएको छ । वर्षौंदेखि कैलाली र कञ्चनपुरमै सीमित हुँदै आएको प्रतियोगिता यसपटक डडेल्धुरा पुगेपछि पहाडी जिल्लामा खेलकुद गतिविधि विस्तारको सन्देश दिएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको १६ औँ संस्करणमा प्रदेशका नौवटै जिल्लाबाट करिब ९ सय खेलाडी सहभागी भएका छन् । दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका खेलाडीहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो तथा एथ्लेटिक्स समावेश गरिएको छ । आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगितालाई प्रदेशकै ठूलो विद्यालयस्तरीय खेल महोत्सवका रूपमा हेरिएको छ ।
पहाडी जिल्लामा पर्याप्त खेल पूर्वाधार नहुँदा ठूला प्रतियोगिता आयोजना हुन नसकिरहेको अवस्थामा डडेल्धुरामा रनिङ शिल्ड आयोजना हुनु स्थानीयका लागि गौरवको विषय बनेको छ । प्रतियोगिताले गाउँ–गाउँमा रहेका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै पहाडी क्षेत्रमा खेलकुदप्रति थप उत्साह बढाएको स्थानीयको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का ले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदलाई तराईमा मात्र सीमित नराखी पहाडसम्म विस्तार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो । यस्ता प्रतियोगिताले लुकेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
प्रतियोगितामा सहभागी खेलाडीहरूको आवास, भोजन, सुरक्षा तथा प्राविधिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले गरेको जनाएको छ ।
