आलितालमा स्वास्थ्य क्षेत्रको प्रगति उत्साहजनक, नौ महिनामा ७ हजारभन्दा बढीले लिए ओपिडी सेवा

sc mahendra

डडेल्धुरा, जेठ १८ : आलिताल गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालन भएका स्वास्थ्य सेवा, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति तथा रोग नियन्त्रणसम्बन्धी गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समीक्षा क्रममा मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित खोप कार्यक्रम, कुपोषण न्यूनीकरण, सरसफाइ प्रवर्द्धन तथा रोग नियन्त्रणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको जानकारी दिइएको थियो।

स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीका अनुसार आलिताल गाउँपालिकाका आठ वटै वडामा स्वास्थ्य सेवा विस्तार गरिएको छ। वडा नम्बर २ र ८ मा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् भने बाँकी ६ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ। वडा नम्बर ८ मा आँखा उपचार केन्द्रले समेत नियमित सेवा प्रदान गरिरहेको छ। साथै विभिन्न स्थानमा खोप सेवा केन्द्र स्थापना गरिएका छन् भने गाउँपालिकाभित्र ६ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन्।

गाउँपालिकाभर हाल ३२ जना स्वास्थ्यकर्मी कार्यरत रहेको जानकारी दिँदै प्रमुख क्षेत्रीले गत नौ महिनाको अवधिमा ७ हजार ९ जनाले ओपिडी सेवा लिएको बताए। पुनः सेवा लिन आउने नागरिकको संख्या ७ हजार ८४७ रहेको छ। त्यसैगरी गाउँघर क्लिनिकमार्फत ६४२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् भने खोप सेवा केन्द्रबाट ३१६ जनाले सेवा लिएका छन्। महिला स्वास्थ्य स्वयंसेविकामार्फत पटक–पटक गरी १५ हजार १८८ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको तथ्यांक प्रस्तुत गरिएको थियो।

समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुखसहित आठ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा आयुर्वेद औषधालयका प्रमुखले आ–आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुतिकरणमार्फत स्वास्थ्य सेवा प्रवाह, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा स्वास्थ्य संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो। उत्कृष्ट कर्मचारीका रूपमा आलिताल स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट कमला राना सम्मानित भएकी छन्। नियमित सेवा प्रवाह, कार्यप्रतिको जिम्मेवारी र उत्कृष्ट कार्यसम्पादनका आधारमा उनलाई सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

त्यसैगरी स्वास्थ्य शाखाले उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई पनि सम्मान गरेको छ। मूल्याङ्कनका आधारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र घरेलु, आलिताल–४ प्रथम, आलिताल स्वास्थ्य चौकी द्वितीय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र हर्तोला तृतीय घोषित हुँदै सम्मानित भएका छन्।

समीक्षा कार्यक्रममा दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउन अझै चुनौती रहेको विषय उठाइएको थियो। औषधि आपूर्तिको नियमितता र स्वास्थ्यकर्मीको स्थायित्वका विषयमा सरोकारवालाहरूले चासो व्यक्त गरेका थिए।

गत आर्थिक वर्षमा नेपाल सरकार र गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रमा विनियोजित ३ करोड ८२ लाख रुपैयाँमध्ये चैत्र मसान्तसम्म ६१ प्रतिशत बजेट खर्च भइसकेको जानकारी दिइएको छ। यस वर्ष स्वास्थ्य क्षेत्रमा जीआईजेड को सहयोग पनि उल्लेखनीय रहेको प्रमुख क्षेत्रीले बताए।

प्रमुख क्षेत्रीले प्राप्त सुझाव तथा प्रतिक्रियाले आगामी कार्ययोजना निर्माणमा महत्वपूर्ण मार्गदर्शन गर्ने उल्लेख गर्दै सबै पक्षसँग सहकार्य गरी स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य क्षेत्रको समग्र सुधार, सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा सुनिश्चितताका लागि गाउँपालिका निरन्तर सक्रिय रहने उनको भनाइ थियो।

You might also like
Leave A Reply

Your email address will not be published.