आलितालमा ५० जना आप्रवासी महिलालाई १०० मौरीघार वितरण

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा ५० जना आप्रवासी महिलालाई मौरीसहितका १०० वटा घार वितरण गरिएको छ।

ए डब्लु ओ इन्टरनेशनलको आर्थिक सहयोग तथा निड्स नेपालको सहकार्यमा सञ्चालित “सम्मानित युवा आप्रवासन तथा सुदृढ जीविकोपार्जन परियोजना” अन्तर्गत पहिलो चरणमा ५० जना महिलालाई जनही दुईवटा मौरीघारसहित मौरी वितरण गरिएको हो।

परियोजना संयोजक शैलेन्द्र जोशीका अनुसार आलिताल गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का ५० जना महिलालाई कुल १०० वटा मौरीघार वितरण गरिएको छ।

परियोजनाले श्रमका लागि भारत गएका व्यक्तिहरूका परिवारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ। आप्रवासी परिवारका महिलाहरूलाई समेटेर आलिताल गाउँपालिकाभर ३२ वटा समूह गठन गरिएको छ। ती समूहमा आबद्ध महिलाहरूका लागि आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले परियोजनाले आलिताल गाउँपालिकासँग साझेदारी गर्दै विभिन्न वडामा मौरीपालनलगायतका उद्यमलाई प्रोत्साहन गर्न पोकेट क्षेत्र निर्माण गर्ने योजना रहेको बताए। उनका अनुसार परियोजना वितरणमुखी भन्दा पनि आवश्यकता पहिचान र सम्भाव्यता अध्ययनका आधारमा कार्यक्रम सञ्चालन गर्दै स्थानीयलाई उद्यमी बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।

उनले भने, “हामी केवल सामग्री वितरण गर्ने होइनौं, सम्भावना भएका क्षेत्र पहिचान गरेर त्यसलाई पोकेट क्षेत्रका रूपमा विकास गर्दै दिगो आयआर्जनको वातावरण सिर्जना गर्न चाहन्छौं।”

कार्यक्रममा आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल(बोहरा)ले निड्स नेपालले समूहका सदस्यलाई सहयोग प्रदान गर्नुअघि अनिवार्य रूपमा सीप विकास तालिम सञ्चालन गर्ने गरेको बताइन्। यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो।

उपाध्यक्ष रावलले भनिन्, “समुदायमा प्रत्यक्ष सहयोगभन्दा सीपको आवश्यकता बढी देखिएको छ। सीपबिनाको सहयोग दीर्घकालीन रूपमा उपलब्धिमूलक हुन सक्दैन। त्यसैले सीप र उद्यमशीलताको विकाससँगै सहयोग प्रदान गरिनु आवश्यक छ।”

परियोजनामार्फत मौरीपालन व्यवसायको प्रवर्द्धन भई आप्रवासी परिवारका महिलाको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.