डडेल्धुरा, असार २५ : डडेल्धुराको आलिताल गाउँपालिकामा आज “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको अनुरोध तथा आलिताल गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा स्थायी प्रकृतिका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाले मिति २०८३ असार २२ गते जारी गरेको सहभागिता सम्बन्धी पत्रमार्फत सम्बन्धित सरोकारवालालाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको थियो। सोही अनुरूप आज गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, स्थानीय तहमा हुने सम्भावित भ्रष्टाचार न्यूनीकरण गर्ने तथा पारदर्शिता र जवाफदेहिताको संस्कार विकास गर्ने विषयमा छलफल गरिएको बताइएको छ।
कार्यक्रममा सहभागीहरूलाई सुशासनका आधारभूत सिद्धान्त, सार्वजनिक स्रोत–साधनको पारदर्शी परिचालन, उपभोक्ता समिति तथा विद्यालय व्यवस्थापनमा अपनाउनुपर्ने कानुनी प्रक्रिया र भ्रष्टाचार न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो। साथै सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवसमेत राखेका थिए।
आलिताल गाउँपालिकाले यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि र उत्तरदायी सार्वजनिक सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
You might also like
