
डडेल्धुरा, असार ३ : गन्यापधुरा गाउँपालिका वडा नं. ५ का ४५ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ।
मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेटी तथा वडा नं. ५ का अध्यक्ष सीपी रोकायाले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरेका हुन्।

उपाध्यक्ष सेटीका अनुसार भूमि व्यवस्था आयोगले केही समयअघि नै गाउँपालिकालाई लालपुर्जा उपलब्ध गराए पनि विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले वितरण प्रक्रिया ढिलाइ भएको थियो। आयोगले खोज तथा प्रमाणीकरण प्रक्रिया जारी राखेकाले अन्य वडाका लाभग्राहीहरू भने अझै प्रतीक्षामा रहेका छन्।


वडा नं. ४ र ५ मा ऐलानी जग्गा उपयोग गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको जग्गा नापजाँच कार्य सम्पन्न भइसकेको वडा नं. २ का अध्यक्ष मनोज देवकोटाले जानकारी दिए। उनका अनुसार वडा नं. ४ का लाभग्राहीलाई पनि केही दिनभित्र लालपुर्जा वितरण गरिनेछ। साथै वडा नं. ४ का थप ५२ परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ।
वर्षौंदेखि उपयोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि स्थानीयवासी उत्साहित भएका छन्। लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व सुरक्षित हुनुका साथै बैंकिङ कारोबार, सरकारी सेवा-सुविधा तथा अन्य कानुनी प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ।
लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयले प्रमाणपत्र प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले बाँकी लाभग्राहीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र पहल जारी राखेको जनाएको छ।



