
डडेलधुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)अन्तर्गत आयोजित ५ दिने मासु तथा अन्य अचार सम्बन्धी सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
“आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगारी” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त तालिममा स्थानीय महिला तथा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिम अवधिभर सहभागीहरूलाई मासु तथा विभिन्न प्रकारका अचारहरूको व्यावसायिक उत्पादन, प्रशोधन, आकर्षक प्याकेजिङ र बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।



तालिमको समापन कार्यक्रममा बोल्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास)ले यस्ता सीपमूलक तालिमहरूले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न र स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिममा सिकेको सीपलाई केवल ज्ञानमा मात्र सीमित नराखी व्यवहारमा उतारेर आफ्नो आयआर्जन वृद्धि गर्न सहभागीहरूलाई विशेष आग्रह समेत गर्नुभयो।

गाउँपालिकाको उद्योग विकास शाखाको समन्वयमा सञ्चालन भएको यस तालिमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्न र गरिबी न्यूनीकरणमा ठूलो टेवा पुर्याउने अपेक्षा प्रमुख प्रशासकीय अधिकृत हर्ष रोक्काले व्यक्त गर्नुभयो।
तालिमका सहभागीहरूले पनि यस कार्यक्रमबाट आफूहरूले जीवनोपयोगी एवं व्यावहारिक ज्ञान र सीप सिक्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन्।



