
डडेल्धुरा:आलिताल गाउँपालिका–८ स्थित डोला गाउँको बहुप्रतीक्षित डोला रिङरोड कालोपत्रे योजनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्राप्त गरेको छ। वर्षौंदेखि स्थानीयवासी तथा जनप्रतिनिधिहरूले उठाउँदै आएको उक्त योजना संघीय सरकारको समपूरक अनुदान कार्यक्रममार्फत कार्यान्वयन हुने गरी बजेट विनियोजन भएपछि स्थानीयमा खुसी छाएको छ।
प्राप्त जानकारीअनुसार डोला रिङरोड कालोपत्रे तथा जालटुडा–ग्वान्नी–सुकुमुल्ले सडक निर्माण योजनाका लागि कुल लागत अनुमान ६ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ। क्रमागत योजनाका रूपमा अघि बढाइने उक्त कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा प्रारम्भिक रूपमा ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

स्थानीयवासीका अनुसार चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल तथा नेताहरूले डोला रिङरोड कालोपत्रे गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए। अहिले बजेट विनियोजन भएपछि योजना कार्यान्वयन हुने आशा बढेको भए पनि विगतका अनुभवका कारण स्थानीयहरू पूर्ण रूपमा विश्वस्त हुन भने सकेका छैनन्। उनीहरू योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने अपेक्षामा छन्।

डोला गाउँ मगर समुदायको सांस्कृतिक पहिचान बोकेको बस्तीका रूपमा परिचित छ। करिब १७० घरधुरी रहेको यस गाउँमा ९९ प्रतिशत मगर समुदायको बसोबास रहेको छ। सडक कालोपत्रे भएपछि गाउँको यातायात पहुँच सहज हुने, कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने तथा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा पहुँच विस्तार हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

विशेषगरी डोला गाउँलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न रिङरोड कालोपत्रेले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मगर संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँमा सडक पूर्वाधारको सुधारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अनुमान गरिएको छ।
आलिताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष धनबहादुर देउवाले उक्त बजेट विनियोजनका लागि गाउँपालिका र वडा कार्यालयले निरन्तर पहल गर्दै आएको बताउनुभयो। उहाँका अनुसार डोला रिङरोड गाउँपालिकाको गौरवको योजनामध्ये एक भएकाले यसको स्तरोन्नति र कालोपत्रे आवश्यक रहेको महसुस गर्दै विभिन्न निकायमा योजना माग गरिएको थियो।
“डोला गाउँको समग्र विकासका लागि सडक पूर्वाधार अत्यन्तै आवश्यक छ। कालोपत्रे सडक निर्माण भएपछि यहाँको आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्नेछ,” अध्यक्ष देउवाले बताउनुभयो।
गाउँपालिकाले डोला गाउँमा सञ्चालनको तयारी गरिएको ‘लाङ्घाली होमस्टे’ प्रवर्द्धनका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कोरोना महामारीअघि आंशिक रूपमा सञ्चालनमा आएको उक्त होमस्टे हाल बन्द अवस्थामा रहेको भए पनि सडक कालोपत्रे कार्यसँगै पुनः सञ्चालन र प्रवर्द्धन गर्ने योजना रहेको वडा अध्यक्ष देउवाले जानकारी दिनुभयो।
स्थानीय सरोकारवालाहरूले सडक कालोपत्रे कार्यले डोला गाउँको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै बजेट कार्यान्वयनमा सम्बन्धित निकायको विशेष ध्यान जानुपर्ने बताएका छन्। उनीहरूले बजेट विनियोजनलाई सकारात्मक सुरुवातका रूपमा लिँदै समयमै निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।
डोला रिङरोड कालोपत्रे योजना सफलतापूर्वक सम्पन्न भएमा गाउँको जीवनस्तर सुधार, पर्यटन प्रवर्द्धन, कृषि तथा स्थानीय उत्पादनको बजार पहुँच विस्तारसँगै समग्र आर्थिक गतिविधिमा समेत उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।




