आलिताल गाउँपालिकाले ४९ करोड ७३ लाख बढीको बजेट ल्यायो, गत वर्ष ६३ प्रतिशत मात्र खर्च

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा :  आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ७३ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको २३औँ गाउँसभामा उपाध्यक्ष मैना कुमारी रावल बोहराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा आर्थिक आत्मनिर्भरतालाई प्राथमिकतामा राखिएको बताइन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत सहित संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटमार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट मात्र १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ।
यता, चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको संशोधित आय–व्यय विवरणले भने बजेट कार्यान्वयनमा चुनौती देखाएको छ। चालु वर्षका लागि ५३ करोड ६६ लाख १० हजार रुपैयाँको संशोधित बजेट रहेकोमा जेठ मसान्तसम्म ४१ करोड ६६ लाख १० हजार रुपैयाँ मात्र आम्दानी भएको छ, जुन कुल बजेटको ७७ दशमलव ६३ प्रतिशत हो।
त्यसैगरी खर्चतर्फ हालसम्म ३३ करोड ८९ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ६३ दशमलव १६ प्रतिशत मात्रै हो। गाउँपालिकाले संघीय सरकारबाट ३३ करोड १२ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेकामा हालसम्म २७ करोड १५ लाख ८५ हजार रुपैयाँ प्राप्त भएको जनाएको छ।
प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको ६ करोड २६ लाख ९३ हजार रुपैयाँमध्ये हालसम्म २ करोड १० लाख ६२ हजार रुपैयाँ मात्र प्राप्त भएको छ। यस्तै, आन्तरिक स्रोतबाट ९८ लाख ६९ हजार रुपैयाँ उठ्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म ३६ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको तथ्यांकले देखाएको छ।
चालु वर्षमा बजेट कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको अवस्थामा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन क्षमता, राजस्व संकलन र विकास योजनाको प्रभावकारी कार्यान्वयनतर्फ गाउँपालिकाको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।
उपाध्यक्ष बोहराले ‘विकासमा सहभागिता, परिणाममा जवाफदेहिता’ भन्ने मूल मन्त्रका साथ जलवायु परिवर्तन, युवा पलायन तथा उत्पादनशीलता न्यूनताजस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै समृद्ध र आत्मनिर्भर आलिताल निर्माण गर्ने लक्ष्य लिइएको बताइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.