
डडेल्धुरा : आलिताल गाउँपालिकाको लघुउद्यम विकास शाखाद्वारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत वडा नंं. ८ मा सञ्चालन गरिएको सातदिने मुडा उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।
असार ४ गतेदेखि १० गतेसम्म सञ्चालन भएको उक्त तालिममा १४ जना स्थानीय महिला तथा पुरुष सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। तालिममार्फत सहभागीहरूलाई मुडा उत्पादन, कच्चा पदार्थको प्रयोग, उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मैना कुमारी बोहराले यस्ता सीपमूलक तालिमले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्राप्त सीपलाई व्यवहारमा उतारेर आर्थिक अवस्था सुधार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

त्यसैगरी वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर देउबाले यस्ता तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई उत्पादन तथा व्यवसायसँग जोडेर आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
तालिममा सक्रिय सहभागिता जनाएका १४ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा लागू गर्दै व्यवसायिक रूपमा मुडा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिकाका अनुसार यस्ता सीपमूलक तालिमले स्थानीय स्तरमा उद्यमशीलताको विकास, स्वरोजगार सिर्जना, आयआर्जन वृद्धि तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा लघुउद्यम सहजकर्ता चन्दा कुमारी ओली, प्रशिक्षक इन्द्रबहादुर बोहरा लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।



