
बैतडीः बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमवार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमवार दिउँसो करिब साढे १ बजेतिर सुदूरपश्मि प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइतेहरूमा धर्मलाल बुढा, मिजरा बुढा, अम्मरसिंह बुढा, अस्मिता थापा, जंगसिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका छन्। प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाईएको छ।



