

काठमाडौं : आज ३२औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ। दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक, अधिकार र हित सुनिश्चित गरेको बताएका छन्।
आदिवासी जनजाति आयोगले आयोजना गरेको विश्व आदिवासी दिवससम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए। उनले नेपालको यही विविधता नै देशको मौलिक पहिचान र शक्ति भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान, भाषा, संस्कृति, परम्परा र जीवनशैली नेपालको राष्ट्रिय गौरव भएको बताए।
उनले आदिवासी जनजातिलाई नेपालको भूमि, प्रकृति र सभ्यतासँग गहिरो सम्बन्ध राख्ने समुदायका रूपमा व्याख्या गरे। उनका अनुसार आदिवासी जनजातिहरूको जल, जमिन र प्राकृतिक स्रोतसँग ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध रहँदै आएको छ।
राष्ट्रपति पौडेलले राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए। पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६ दशमलव ८ प्रतिशत रहेको उल्लेख गर्दै उनले राजनीतिक तथा सामाजिक क्षेत्रमा उनीहरूको सहभागिता क्रमशः बढ्दै गएको बताए। उनले आदिवासी जनजातिको समग्र विकासका लागि शिक्षामा पहुँच विस्तार गर्नुपर्नेमा पनि जोड दिए। शिक्षा, सीप तथा अवसरमा समान पहुँच पुर्याउँदै आदिवासी जनजातिलाई विकासको मूल प्रवाहमा थप प्रभावकारी रूपमा सहभागी गराउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
नेपाल अन्तर्राष्ट्रिय मञ्चमा समेत आदिवासी जनजातिको अधिकारका पक्षमा अग्रपंक्तिमा रहेको राष्ट्रपति पौडेलले बताए। उनका अनुसार नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो। उनले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र तथा जैविक विविधता महासन्धिप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको पनि बताए। यी अन्तर्राष्ट्रिय दस्तावेजले आदिवासी जनजातिको अधिकार, पहिचान तथा सांस्कृतिक स्वायत्ततालाई मान्यता दिएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका परम्परागत ज्ञान, सीप र प्रविधिलाई आधुनिक तथा व्यावसायिक रूपान्तरण गर्नुपर्नेमा जोड दिए। यसबाट आदिवासी जनजातिको आर्थिक सशक्तीकरणसँगै उनीहरूको मौलिक ज्ञान र संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने उनले बताए।
आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने सम्भावना पनि राष्ट्रपति पौडेलले औँल्याए। उनले ‘ओपन एयर लिभिङ म्युजियम’ जस्ता अवधारणामार्फत आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्नुपर्ने बताए।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका साथै राज्यका हरेक तहमा समान सहभागिताको विषयलाई थप प्राथमिकतामा ल्याउने अपेक्षा गरिएको छ।
नेपालमा पनि विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, भेषभूषा, कला तथा परम्पराको प्रदर्शन गर्दै दिवस मनाइरहेका छन्। दिवसले विविधताबीचको एकतालाई अझ बलियो बनाउँदै सबै समुदायको समान अधिकार र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।



