पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुबीले दिईन् प्रहरीमा जाहेरी



काठमाडौं : उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन्।
ललितपुरका एसएसपी तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिए। ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ,’ उनले भने।
जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्याएको ठाकुरको दाबी छ। उक्त सामग्रीलाई लिएर उनले श्रेष्ठमाथि कानुनी कारबाहीको माग गरेकी छन्।
यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो । साउन २५ गते जनआस्था डटकममा चौधरीसँग एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए ।
सोही प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठ बन्दी प्रत्यक्षीकरणको रिटपछि सर्वोच्चको आदेशमा रिहा भएका हुन्।


