
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–१२ लालढुंगाकी एक महिलाको रङ्गुन नदीले बगाएर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ४५ वर्षीया डम्मरीदेवी नाथ रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान भैंसी चराउन गएकी नाथ भैंसीको बच्चा नदी नजिक पुगेपछि त्यसलाई बचाउने क्रममा नदीमा बगेको स्थानीयले बताएका छन्।


स्थानीयका अनुसार नाथलाई जोगबुडा–लालढुंगा क्षेत्रमा नदीले बगाएको थियो। नदीमा बगेपछि स्थानीय, प्रहरी र नेपाली सेनासहितको टोलीले खोजी कार्य थालेको थियो।
बिहान करिब १० बजेतिर नदीमा बगेकी नाथको शव करिब चार घण्टापछि दिउँसो २ बजेतिर घटनास्थलबाट करिब ८/१० किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि पोस्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



