

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहप्रवक्ता प्रहरी निरीक्षक थापाका अनुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालिका–८ का धिरेन्द्र महरालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार खड्काको साथबाट एक ग्राम ८४० मिलीग्राम खैरो हिरोइन र महराको साथबाट छ ग्राम ४१ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।



