डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाई सुरु गर्न सकिने भएको छ। कलेजका डिन प्राध्यापक डा. हेमनाथ जोशी र सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठक लगायतको टोलीले अनुगमन गरेपछि यसै वर्षदेखि अध्यापन सुरु गर्र्न सकिने सम्भावना देखिएको बताइएको हो ।
असारमा कञ्चनपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका थिए । विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाउँदैछ । नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ।’
यस्तै मेडिकल कलेज सञ्चालनका लागि पाठ्यक्रम निर्माणको काम थाल्ने डिन जोशीले बताए। ‘पाठ्क्रम निर्माणको काम सहज नभए पनि त्यसमा लाग्छु,’ उनले भने, ‘आवश्यक सबै एक्सपर्टसंग परामर्स गरी तीन महिनाभित्र पाठ्क्रम निर्माण गर्न सकिन्छ ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेज सञ्चालन गरिनेछ । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षिय सम्भौता भई कलेज सञ्चालनको तयारी थालिएको हो । संघिय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालन गरिने सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले बताए ।
मेडिकल कलेज सञ्चालनका लागि सामान्यतः २ सय रोपनी जग्गा आवश्यक पर्ने चिकित्सा शिक्षा आयोगको प्रावधान छ । उनले भने, ‘अस्पतालका नाममा १५३ रोपनी जग्गा छ । अस्पतालसंगै जोडिएको १९१ रोपनी जग्गा कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ।’ किर्तिपुरमा रहेको डडेल्धुरा बहुमूखी क्याम्पसका नाममा २२ कोठा भएका भवनसहित ८४ रोपनी जग्गा ४० वर्षका लागि लिजमा प्राप्त भएको जानकारी दिदै रजिष्टार पाठकले यसैवर्षदेखि पढाई सुरु गर्न सकिने बताए
डडेल्धुरा अस्पतालमा अहिले १ सय ५० शय्या रहेका छन् भने ३ सय शय्याको अनुमति प्राप्त भइसकेको छ । केही महिनाभित्रै निर्माणाधिन नयाँ भवनहरु सञ्चालनमा ल्याउने तयारी अस्पतालको छ । तीन सय शय्याको अस्पतालबाट सुरुवात गरी ६ सय शय्या पुगाउने योजनाअनुसार काम अघि बढेको रजिस्टार पाठकले बताए ।
पहिलो दुई वर्ष आधारभूत विज्ञानका कक्षाहरु सञ्चालन गरिने, दुई वर्ष प्राविधिक कक्षाहरु सञ्चालन गरिने र पाँच वर्षमा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने उनले बताए । ‘आधारभूत विज्ञानमा १८ वटा संकाय हुन्छ,’ उनले भने, ‘सुरुमै ५४ जना प्राध्यापक आवश्यक पर्ने भएकाले ५८ जनाको दरबन्दी माग गरिएको छ ।’
कलेज सञ्चालनका लागि प्रारम्भिक खर्च विश्वविद्यालय अनुदान आयोगसंग रहेको र काम सुरु गर्दा निकासा हुने जानकारी आफुले पाएको उनले बताए । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मेडिकल कलेज सञ्चालनका लागि ४० करोड बजेट विनियोजन गरिसकेको उनले बताए ।
०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । ०७९ साल जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र२०८० को बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना समावेस गरिएको थियो । यसै साता डडेल्धुरामा डिन कार्यालय स्थापनाको पनि तयारी छ ।