बैशाख २६ नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।
नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।
लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षात्मा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।
पछिल्लो समय किसानहरूले बाच्छी नपाल्ने र हरेक महिनाजसो फर्ममा नयाँ नयाँ गाई भित्र्याउने चलन बढेकाले यो रोग नियन्त्रण गर्न चुनौती सिर्जना भएको हो । मृत्युदर निकै कम अर्थात् १० प्रतिशतभन्दा थोरै भएको कारण रोग नियन्त्रणमा सम्बन्धित निकायहरूले त्यति ध्यान दिएका छैनन् । तर यो रोगको कारण किसानले ठूलो नोक्सानी व्यहोर्न परेको छ ।
दूधमा आत्मनिर्भर उन्मुख भइसकेको नेपाल पुनः ठूलो मात्रामा दूध आयात गर्नुपर्ने अवस्थामा पुग्नुमा यो रोग पनि एक महत्वपूर्ण कारण हो । भाइरल रोग भएकोले यसको कुनै ठोस उपचार छैन । रोग निको हुन लामो समय लाग्ने र रोग निको भएका गाईहरूमा दूध उत्पादन नबढ्दा किसानहरूले उत्कृष्ट भनिएका गाईहरू हटाउनु परेको छ ।
मुलुक सङ्घीय प्रणालीमा गएपछि रोगहरूको रिपोर्ट गर्ने प्रणाली अवरुद्ध भएको छ । फलतः यस्ता संक्रामक रोग नियन्त्रण गर्न जटिल भएको छ ।
यदि सरकारी तबरबाट खोप खरिदको लागि बजेट व्यवस्थापन गर्न अर्को वर्ष कुर्नुपर्ने भए निजी क्षेत्रलाई छोटो प्रक्रियाबाट खोप खरिदको अनुमति दिई किसानलाई अभियानकै रूपमा खोप लगाउन प्रोत्साहन गर्नुपर्ने देखिन्छ
लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्दछ ।
त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने हुन्छ ।
यो रोग नियन्त्रण गर्न पशु सेवा विभागले यथाशीघ्र यो रोगको ईपिडेमीयोलोजिकल अध्ययन गरी रोग नियन्त्रण कार्यविधि वा योजना बनाउनु पर्दछ । रोग देखिएको विन्दुबाट अन्य ठाउँमा रोग नफैलियोस् भन्नको निमित्त त्यो ठाउँबाट अन्यत्र गाईको ढुवानी रोक्नुपर्दछ ।
स्थानीय तह वा प्रदेश स्थित भेटेरीनरी अस्पतालले रोग देखिएको ठाउँबाट २० किलोमिटरसम्मको परिधिलाई संक्रमित क्षेत्र र सो क्षेत्रको बाहिरी २० किलोमिटरसम्मको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी रोग नियन्त्रणका उपायहरू अबलम्बन गर्नुपर्छ ।
यो रोग लाग्न र फैलन नदिने सबैभन्दा प्रभावकारी विधि खोप हो । तर नेपालमा भने रोग भित्रिएको ३ वर्ष बितिसक्दा पनि लम्पी स्किन विरुद्ध खोपको उचित व्यवस्था हुन सकेको छैन । यो रोग नियन्त्रण गर्न तीनै तहको सरकारको समन्वयमा रोग सर्वेलियन्स, भ्याक्सिनेसन र जनचेतनाका कार्यक्रमहरू संचालन गर्न आवश्यक छ ।
रोगको छिटो निदान गरी नियन्त्रण गर्न स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरूलाई नमूना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनुपर्दछ । रोग नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएकाले छोटो र सहज विधिबाट खोप खरीद गरी सबै उमेर समूह र अवस्थाका गाईलाई वर्षात् अघिनै खोप लगाउनुपर्दछ ।
यदि सरकारी तबरबाट खोप खरिदको लागि बजेट व्यवस्थापन गर्न अर्को वर्ष कुर्नुपर्ने भए निजी क्षेत्रलाई छोटो प्रक्रियाबाट खोप खरिदको अनुमति दिई किसानलाई अभियानकै रूपमा खोप लगाउन प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
(लेखक कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत पशु चिकित्सक हुन् ।यो अनलाइन खबरमा छापिएको लेख हो)