- गणेशबहादुर मगर, डडेल्धुरा
कृषिमा बढ्दो जोखिमबाट बच्न व्यवसायीक किसान लालबहादुर डालाले एकीकृत कृषि कर्म अपनाईरहेका छन ।
डडेल्धुरा जिल्लाकै अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रको आलिताल गाउँपालिका वडा नं. ८ डोलागाउँका व्यवसायीक किसान डालाले शुभम् कृषि तथा पशुपक्षी फर्ममार्फत एकीकृत कृषि कर्म गरिरहेको आलिताल गाउँपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले जनाएको छ । रोजगारको सिलसिलामा सुदूरपश्चिम र तत्कालीन मध्यपश्चिम अर्थात हालको कर्णाली प्रदेशमा थुप्रै समय बिताएका लालबहादुर आफ्नै ठाँउमा पसिना बगाएर आत्मनिर्भर बन्ने उदेश्यले २०७३ सालदेखि छरछिमेकका युवाहरुलाई पनि सिकाउँदै व्यवसायिक तरकारी खेतीमा होमिएका हुन ।
डोला गाउँसँगै जोडिएको दुवाली खेत जहाँ लालबहादुरको अगुवाईमा स्थानीय युवाहरु तरकारी खेतीमा होमिएका छन । दुवाली खेत अन्न उत्पादनका दृष्टिकोणले आलिताल क्षेत्रमै प्रसिद्धि कमाएको ठाँउ हो । मौसमको प्रतिकुलताको कारण निकै राम्रो उब्जनी हुने दुवालीखेतमा पछिल्लो वर्षहरूमा तुलनात्मक रुपमा धानबाली तथा गहुँबालीको उत्पादन कम हुन थालेको स्थानीय गुनासो गर्छन । किसानहरूले जलवायू परिवर्तनका कारण आफ्नो उत्पादनमा कमी आएको भनेर नबुझे पनि पछिल्लो समय धानबाली तथा गहुँबालीको उत्पादनमा निकै कमी आएको महसुस गरिरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि प्रसार अधिकृत तारिसिँह ठकुराठीले बताए ।
पछिल्लो समय हावापानीमा आएको बदलावले किसानहरूले दुःखसँगै बिभिन्न खाले जोखिम झेलीरहेको उनको भनाई छ । पछिल्ला वर्षहरूमा पानी कहिले पर्छ टुंगो नै छैन, लामो समयसम्म हुने खडेरी तथा कहिलेकाँही डम्म लाग्ने हुस्सुले किसानहरूलाई खासगरी धान तथा गहुँखेतीमा समस्या देखिन थालेपछि आफूसँगै अन्य युवा किसानहरू पनि वैकल्पिक खेतीको रुपमा तरकारी खेती तर्फ आकर्षित हुन थालेको लालबहादुर बताउँछन ।
“तावाको तातो देखेर हाम फाल्यो, भुङग्रोमा परेर म¥यो,” भने जस्तै अन्नबाली छोडेर तरकारी खेतीमा लागेकालाई पनि सोचे जस्तो सहज भने छैन । पछिल्लो समय हावापानीमा आएको परिवर्तनले तरकारी खेतीलाई प्रभाव पार्ने गरेको व्यवसायीक तरकारी उत्पादनमा सक्रिय किसानहरु बताउछन । तरकारीमा नयाँ नयाँ रोगहरूले सोचे जस्तो उत्पादन गर्न सकिरहेका छैनन् भने उत्पादन भइसकेका तरकारीहरूको बजारीकरणमा उत्तिकै समस्या छ । ‘विचौलियाका कारण किसानले कृषि उपजको उचित मुल्य पाउन सकिरहेका छैनन् ।’ लालबहादुरले भने,‘उपभोक्ताले महंगो मुल्य तिरेर कृषि उपज खरिद गर्नुपरिरहेको छ, फाइदा जति विचौलियालाई मात्रै छ ।’
खेती किसानीमा उपयुक्त बिउबिजन, मल, कृषि यन्त्र, विषादी, प्राविधिक ज्ञानको कमीका कारण कृषि पेशामा जोखिम देखेर धेरै किसानहरूले कृषि पेशालाई जोखिमको पेशा मान्ने गरेका बेला लालबहादुरले भने छुट्टै विकल्प अपनाएर कृषिमा हुनसक्ने जोखिम न्यूनिकरण गर्ने प्रयास गरिरहेका छन । सात वर्ष पहिले दुवालीखेतको एक कुनामा थोरै जमिनमा तरकारी खेती सुरु गरेका लालबहादुरले अरुलाई पनि तरकारी खेतीमा आकर्षित गरेर हाल दुवाली खेतको करिव एक सय ३० रोपनी जमिनमा व्यवसायीक तरकारीको खेती गरिरहेको बताए । उनको शुभम् कृषि तथा पशुपक्षी फर्ममा आलुखेतीसँगै ताजा तरकारी तथा मसलावाली उत्पादन हुने गरेको छ । उनले व्यवसायीक तरकारी खेतीसँगै कुखुरा, बंगुर तथा माछापालन गरिरहेका छन ।
कसरी हुन्छ कृषिमा जोखिमको कमी ?
कृषि फर्ममा आवश्यक पर्ने मल फर्ममै उत्पादन हुने भएकोले आर्थिक रुपमा कम भार हुने लालबहादुर बताउँछन । फर्ममा रहेको कुखुराको विष्टा बंगुर तथा माछाको लागी आहारा बन्छ भने बारीमा मलको रुपमा पनि प्रयोग गरिन्छ । बङ्गुरको विष्टालाई पनि माछाको आहारा र सोझै बारीमा मलको रुपमा प्रयोग हुने गरेको छ भने माछा बिक्री भए पश्चात माछा पोखरीमा थिग्रिएको माटो पनि मलको रुपमा बारीमा प्रयोग गर्दा तुलनात्मक रुपमा मल खरिदमा आर्थिक भार कम हुने लालबहादुर बताउछन ।
कुनै सिजनमा कुनै एक उत्पादनको अवस्था राम्रो हुन नसके वा बजारीकरण राम्रो नभएमा अर्को उत्पादनले भरथेग गर्दा जोखिम कम हुने लालबहादुर बताउँछन । कुनै सिजनमा सोचे जस्तो ताजा तरकारी उत्पादन नभएमा फर्ममा रहेका माछा, बंगुर र कुखुराले फर्मलाई आर्थिक रुपमा कमजोर हुन नदिने उनी बताउछन । ‘तरकारी, माछा, बंगुर र कुखुरा उत्पादन भइरहेकाले फर्ममा हरेक दिन आर्थिक कारोबार भइराख्छ,’ लालबहादुर भन्छन, ‘एक मात्र बस्तुको उत्पादन गर्ने हो भने फर्ममा दैनिक रुपमा आर्थिक कारोबार नहुने हुँदा एकीकृत कृषि उत्पादनले आर्थिक रुपमा ठिकै सन्तुष्टी दिएको छ ।’
सबैभन्दा ठुलो सन्तुष्टि के ?
धेरै युवाहरूले कृषि कर्म सुरु गर्ने तर बिचमै छोड्ने गरेको प्रति लालबहादुरको दुखेसो छ । कृषि कर्ममा प्रवेश गर्नु पूर्व मानसिक रुपमा तयार हुनुपर्ने उनले बताए । कृषि कर्ममा धैर्यता र निरन्तरता आवश्यक रहेको बताउँदै उनले नयाँ प्रविधि, नयाँ सोच, नयाँ बिउको प्रयोग गरेर किसानले फाइदा लिन सक्नुपर्ने सुझाए । प्रायः हरेक दिन दुवालीखेतमा रहेको फर्ममा काम गरिरहेको अवस्थामा भेटिने लालबहादुर आफू जुनसुकै कर्ममा लागे पनि समर्पित हुनुपर्ने बताउँछन ।
आर्थिक रुपमा कतिको सफल भइयो भन्ने प्रश्नमा आर्थिक रुपमा सफल र सन्तुष्टिको कुनै सिमा नहुने लालबहादुरको तर्क छ । सबैभन्दा ठुलो सन्तुष्टि कृषि कर्मबाट समाजमा चिनिएको छु, आफ्ना सन्तानहरूसँगै बसेर उनीहरूको गुणस्तरीय शिक्षामा लगानी गर्न सकेको छु यो भन्दा ठुलो सन्तुष्टि अरु के होला र ?’ उनले भने । गत वर्ष मात्र डडेल्धुरा जिल्ला स्तरीय “भीमदत्त उत्कृष्ट किसान” सम्मानबाट पुरस्कृत भएका लालबहादुर एकाबिहानैदेखी बेलुकीसम्म दुवालीखेतमा तरकारी तथा पशुपालनमा अथक मिहेनत गरिरहेका भेटिन्छन ।
विकट बस्तीसम्म सडक विस्तार भएसँगै कृषि उत्पादनको बजारीकरण सहज भएको उनको अनुभव छ । तर, अन्धाधुन्ध डोजर प्रयोग गरेर निर्माण गरिएका सडककै कारण पानीका मुहानहरु सुक्न थालेकाले कृषिमा थप जोखिम थपिएको उनले बताए । चुरे क्षेत्रमा रहेका थुपै पानीका मुहानहरु हाल सुकिसकेको उनले सुनाए । जलवायु परिवर्तनका असरहरुलाई मध्यनजर गरेर दिगो विकासको अवधारणा अनुसार काम गर्न सकिएमात्रै कृषि कर्म दिगो हुने लालबहादुर बताउछन ।
गहुँ फल्ने खेतमा सुन फलाउदै दुवालीखेतका किसानहरू
यस वर्षको सुदूरपश्चिमको नीति तथा कार्यक्रममा “कृषि”
सिकाइ केन्द्र बन्दै डडेल्धुराका व्यवसायिक कृषि फर्महरु