आलितालका २४ पहिरोपीडित परिवारको पुनःस्थापनाका लागि सरकारको स्वीकृति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित मालागाउँ र भोकागाउँका पहिरोपीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। वर्षौँदेखि अस्थायी टेन्ट र टहरामा कष्टकर जीवन बिताउँदै आएका २४ घरपरिवारको पुनःस्थापनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले स्वीकृति दिएको छ।

समितिको ३८औँ बैठकले आलिताल गाउँपालिका–१ का भोका र माला गाउँका २४ घरधुरीलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकको निर्णयसँगै लामो समयदेखि पुनःस्थापनाको प्रतीक्षामा रहेका परिवारलाई सुरक्षित आवासमा सार्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

वि।सं। २०७९ सालको बर्खामा गाउँमाथिबाट पहिरो खसेपछि मालागाउँ र भोकागाउँका बस्ती उच्च जोखिममा परेका थिए। घर तथा खेतीयोग्य जमिनसमेत जोखिममा परेपछि विस्थापित भएका परिवारले सुरुमा नजिकैको जनज्योति आधारभूत विद्यालयमा आश्रय लिएका थिए। पछि उनीहरूलाई टाँक नामक खुला क्षेत्रमा अस्थायी टहरा र त्रिपालमुनि राखिएको थियो।

विस्थापित भएको लामो समय बितिसक्दा पनि सुरक्षित जग्गा र स्थायी आवासको व्यवस्था हुन सकेको छैन। विशेषगरी दलित समुदायको बाहुल्यता रहेको उक्त बस्तीका बालबालिका, वृद्धवृद्धा र महिलाले बर्खाको चिसो तथा हिउँदको कठ्याङ्ग्रिने जाडोमा थप कठिनाइ भोग्दै आएका छन्।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत मालागाउँ र आसपासको क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको थियो। तर, पुनःस्थापनाको ठोस प्रक्रिया अघि नबढ्दा पीडित परिवार अस्थायी टहरामै बस्न बाध्य थिए।

अब कार्यकारी समितिबाट स्थानान्तरणको स्वीकृति पाएसँगै वर्षौँदेखि सुरक्षित आवासको प्रतीक्षामा रहेका परिवारको पुनःस्थापनाले गति लिने आशा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.