
डडेल्धुरा : आलिताल गाउँपालिकामा महिलाको स्वास्थ्य समस्या पहिचान, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार परामर्श प्रदान गर्ने उद्देश्यले निःशुल्क स्त्रीरोग तथा सामान्य चिकित्सा शिविर सञ्चालन हुने भएको छ।
आलिताल स्वास्थ्य चौकी, वडा नं. ८ गोदाम बजारमा यहि मंसिर १५ गते एक दिने शिविर सञ्चालन हुने आयोजकले जनाएको छ।

शिविरमा स्त्रीरोग तथा महिला स्वास्थ्य सेवाअन्तर्गत महिनावारी अनियमितता, गर्भावस्थासम्बन्धी परीक्षण तथा परामर्श, सेतो पानी बग्ने समस्या, पाठेघरसम्बन्धी समस्या, गर्भवती तथा मातृ स्वास्थ्य परामर्श, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा र महिलामा देखिने हर्मोन तथा रजोनिवृत्तिसम्बन्धी समस्या परीक्षण तथा परामर्श प्रदान गरिनेछ।

त्यस्तै, सामान्य चिकित्सा सेवातर्फ ज्वरो, टाउको दुखाइ तथा संक्रमणसम्बन्धी परीक्षण, उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी परीक्षण तथा परामर्श, यान्त्रिक तथा पेटसम्बन्धी समस्या, ढाडको नसा तथा शरीर दुख्ने समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, बालबालिका तथा किशोरकिशोरीको सामान्य स्वास्थ्य समस्या र अन्य सामान्य स्वास्थ्य समस्याको परीक्षण तथा चिकित्सकीय परामर्श उपलब्ध गराइनेछ।
शिविरमा आधारभूत स्वास्थ्य परीक्षणअन्तर्गत रक्तचाप परीक्षण, रगतमा चिनीको मात्रा परीक्षण, तौल तथा उचाइ मापन र शरीरको तापक्रम परीक्षणसमेत गरिनेछ। आवश्यकताअनुसार थप परीक्षणका लागि सिफारिस गरिने आयोजकले जनाएको छ।
शिविर सप्राइज एन्ड डिजिटल हब, डडेल्धुरा, फ्रेग्रेन्स मिनिस्ट्री तथा आफ्नो एफ.एम. डडेल्धुरा र युथ कम्बाइन फेलोसिप डडेल्धुरा लगायतका संस्थाको सहयोग तथा सहकार्यमा सञ्चालन हुन लागेको हो।
आलिताल गाउँपालिकाको सहजीकरण तथा आलिताल स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन हुने शिविरबाट स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा, परीक्षण तथा परामर्श निःशुल्क प्राप्त गर्न सक्नेछन्।
आयोजकले महिला, पुरुष, ज्येष्ठ नागरिक तथा स्वास्थ्य समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन आग्रह गरेको छ।



