
डडेल्धुरा : डडेल्धुरामा कीटजन्य रोग स्क्रब टाइफस को संक्रमण भयावह बन्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनासम्म जिल्लाभर कुल ४ हजार ६ सय ८ जना मा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो समय संक्रमणसँगै मृत्युका घटनासमेत देखिन थालेपछि जिल्लामा त्रास बढेको छ। केही दिनअघि मात्रै आलिताल गाउँपालिका–५, तिलेताकी १६ वर्षीया किशोरी चन्द्रा जोशीको स्क्रब टाइफसकै कारण ज्यान गएको थियो। स्वास्थ्य कार्यालयले उपलब्ध गराएको अभिलेखमा संक्रमितको संख्या उल्लेख भए पनि हालसम्म जिल्लाभर यस रोगबाट मृत्यु हुनेको यकिन विवरण भने समेटिएको छैन।

अमरगढीमा संक्रमण उच्च, अन्य पालिकामा पनि बढ्दो !
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क विश्लेषण गर्दा जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकामा स्क्रब टाइफसको संक्रमण सबैभन्दा उच्च देखिएको छ। पछिल्लो समय ग्रामीण भेगका अन्य स्थानीय तहहरूमा समेत संक्रमणको दर तीव्र रूपमा उकालो लागिरहेको छ।

तथ्याङ्क अनुसार आ.व. २०७९/८० मा ५४७ जनामा देखिएको संक्रमण आ.व. २०८०/८१ मा बढेर ६१५ पुगेको थियो। आ.व. २०८१/८२ मा यो संख्या ह्वात्तै बढेर १,३३९ पुग्यो भने आ.व. २०८२/८३ मा १,११९ जनामा संक्रमण देखियो। चालु वर्षको कात्तिक मसान्तसम्मै ९८८ जना संक्रमित भइसकेकाले यो वर्ष संक्रमणले अघिल्ला वर्षका सबै रेकर्ड तोड्ने जोखिम देखिएको छ। विशेषगरी अजयमेरु, परशुराम, भागेश्वर र आलिताल गाउँपालिकामा अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षको सुरुवाती चार महिनामै बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।

के हो स्क्रब टाइफस ? र कसरी जोगिने !
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक जीवाणु ब्याक्टेरिया बाट लाग्ने एक प्रकारको संक्रामक रोग हो। यो रोग मुसाको कान वा शरीरमा बस्ने ‘माइट’ (एक प्रकारको सूक्ष्म किर्ना) ले टोक्दा मानिसमा सर्छ।
लक्षणहरूस् उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी रातो हुनु, पसिना आउनु, शरीरमा रातो बिमिरा देखिनु र किर्नाले टोकेको ठाउँमा कालो दाग (इस्कार) देखिनु यसका प्रमुख लक्षण हुन्।
बच्ने उपाय : खेतबारी, झाडी वा जंगल जाँदा शरीर ढाक्ने पूरा बाहुला भएका लुगा लगाउने, भुइँमा सिधै नबस्ने, घरवरिपरि झाडी सफा राख्ने र मुसा नियन्त्रण गर्ने गर्नुपर्छ। समयमै पहिचान भई एन्टिबायोटिक औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ, तर उपचारमा ढिलाइ भएमा कलेजो, मिर्गौला, फोक्सो र मस्तिष्कमा संक्रमण फैलिएर बिरामीको ज्यानसमेत जान सक्छ।



