डडेल्धुरा : आलिताल गाउँपालिकामा रहेको चेतना साना किसान कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्ण दत्त जोशीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा नम्बर ८ का अध्यक्ष धन बहादुर देउवाको उपस्थिति रहेको थियो।
सभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरू पारित गरिनुका साथै देउडा र सांस्कृतिक कार्यक्रमले सभालाई रोमाञ्चक बनाएको थियो।
तिन करोड रुपैयाँ कारोबार रहेको यस सहकारीमा करिब २१०० शेयर सदस्य र ११० कृषक समूह संलग्न छन्।

सहकारीले विगत १४ वर्षदेखि आलिताल गाउँपालिकाका ८ वटै वडाको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
सभाका क्रममा सहकारीलाई महत्वपूर्ण सहयोग पुर्याउने पूर्व वडा अध्यक्ष द्वय प्रकाश बोहरा र लोकेश महरालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको थियो । त्यस्तै, ५ जना एकल महिला र १ जना अपांग शेयर सदस्यलाई पनि दोसल्ला सहित सम्मान गरिएको थियो।

सहकारीले कृषि उत्पादनको खरिद-बिक्री, दुग्ध संकलन केन्द्रको सञ्चालन गर्दै किसानहरूको आर्थिक सशक्तीकरण र कृषि क्षेत्रको विकासमा अतुलनीय योगदान गर्दै आइरहेको छ।
वार्षिक साधारण सभाले संस्थाको आगामी योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन नयाँ ऊर्जा थपेको अध्यक्ष जोशीले बताए ।

