डडेल्धुरा : आलिताल गाउँपालिका-५, भिमदत्तपुरमा नवनिर्मित प्रहरी चौकी भवनमा हिजो (आइतबार) प्रहरी कार्यालय स्थानान्तरण भएको छ।
द्वन्द्वकालमा भत्किएको पुरानो भवनपछि आलिताल प्रहरी चौकी गोदाम बजारस्थित नर बहादुर बिष्टको घर भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। अब, नयाँ भवनमा सरेपछि सुरक्षा संयन्त्रलाई व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
४७ लाख ५४ हजार ७४२ रुपैयाँको लागतमा बनेको भवनमा कार्यालय, पुरुष तथा महिला प्रहरीका लागि अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, हिरासत कक्ष, गार्ड रुमलगायतका सुविधा छन्।
नयाँ भवनको हस्तान्तरणसँगै आलिताल गाउँपालिकाको सुरक्षाको संरचना थप बलियो बनेको छ।
