
डडेल्धुरा — आलिताल गाउँपालिका वडा नम्बर -५ भिमदत्तपुरमा नवनिर्मित प्रहरी चौकीको भवन औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।
४७ लाख ५४ हजार ७४२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भवनमा कार्यालय, पुरुष तथा महिला प्रहरीका लागि अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, हिरासत कक्ष, गार्ड रुमलगायतका संरचना रहेका छन्।

नयाँ भवनको हस्तान्तरणसँगै आलिताल गाउँपालिकामा सुरक्षाको संरचना थप बलियो बनेको छ। यो पहलले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्। कार्यक्रम पालिका अध्यक्ष शेर सिंह पार्कीको अध्यक्षतामा सम्पन्न भयो।
प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्द थिए।


२०७८ साल पुष २९ गते सम्झौता गरिएको यो भवन २०८० साल असार महिनामा निर्माण सम्पन्न भई २०८१ साल माघ २४ गते(आज) हस्तान्तरण गरिएको हो। निर्माण कार्य डिडबि एल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कञ्चनपुरले गरेको हो।
पालिका अध्यक्ष शेर सिंह पार्कीले संविधान निर्माणपछि लोकतान्त्रिक प्रक्रियालाई अझै बलियो बनाउन शान्ति, सुरक्षा र अमन चयनको महत्वपूर्ण भूमिका रहने बताए। चौतर्फी विकासका योजनालाई अगाडि बढाउनका लागि सुरक्षा संयन्त्रलाई सुदृढ गर्न पालिकाले प्रहरी चौकी भवन निर्माणमा सहयोग गरेको स्पष्ट पारे।
ूआफ्ना नागरिकलाई सेवा र सुरक्षा दिने निकाय नै सुरक्षित नभए शान्ति कायम गर्न असहज हुन्छ,अध्यक्ष पार्कीले भने। जनताको अमन चयनका लागि प्रहरी जवानहरू रातको १२ बजे पनि खटिनुपर्ने हुँदा उनीहरूको बसोबासको उचित व्यवस्था हुनु आवश्यक रहेको उनले बताए। पालिकाले यो पहल गरेर उदाहरणीय काम गरेको उल्लेख गर्दै स्थानीय सुरक्षालाई थप बलियो बनाउन प्रतिबद्ध रहेको उनको धारणा थियो।
डडेल्धुरा प्रहरी प्रमुख सुगन्ध श्रेष्ठले जिल्लामा ३४ वटा प्रहरी युनिट रहेका र करिब ३५० प्रहरी कर्मचारी कार्यरत रहेको जानकारी दिए। प्रहरीका कतिपय युनिटहरू भवन अभावमा भाडामा बस्न बाध्य रहेको उनले बताए।
प्रमुख अतिथि गणेश चन्दले नयाँ भवन हस्तान्तरणले प्रहरीको कार्यक्षमता र समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले यो पहललाई उदाहरणीय कामको रूपमा लिने बताए।

आलिताल प्रहरी चौकीको पुरानो भवन द्वन्द्वकालमा भत्किएको थियो। त्यसयता प्रहरी भाडाको भवनमा बस्दै आएका थिए। नयाँ भवनको निर्माणले सुरक्षा संयन्त्रलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल, पत्रकार महासंघका अध्यक्ष हिक्मत बहादुर सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो।



