
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक संरचना निर्माणसँगै त्यसको सदुपयोग र संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन्।
कैलालीको टीकापुर नगरपालिका–७ मा निर्मित बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निर्माण भएका संरचनाको संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले योजना विहीन रूपमा संरचना निर्माण गर्दा करोडौँ रुपैयाँको सार्वजनिक रकम दुरुपयोग हुने गरेको उल्लेख गरे।

“योजना बनाउँदा आवश्यकतालाई ध्यान दिन जरुरी हुन्छ,” उनले भने, “अनावश्यक क्षेत्रमा बढी खर्च हुँदा आवश्यकताका आधारमा बनेका संरचनाबाट नागरिक सन्तुष्ट हुन सक्ने अवस्था रहँदैन।”

मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा औचित्य पुष्टि नभएका भवन तथा पूर्वाधार योजनाहरूलाई प्राथमिकता नदिइने बताए। “योजनाको औचित्य पुष्टि भए मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्नेछ,” उनले स्पष्ट पारे, “बनेका संरचनाको संरक्षण र उपयोग सुनिश्चित भएमा मात्र बजेट विनियोजन गरिने नीति लिएका छौं।”
आगामी वर्षको बजेट दुई–तीन अर्ब रुपैयाँ घट्न सक्ने अनुमान गर्दै उनले विश्वव्यापी आर्थिक मन्दीका कारण बजेट स्रोतहरू सीमित हुँदै गएको बताए। “बजेटका स्रोतहरू घट्दै गर्दा आवश्यकता बढिरहेका छन्, यो निकै चुनौतीपूर्ण अवस्था हो,” उनले भने, “यस चुनौतीलाई सामना गर्न सबै विकास साझेदारहरूबीच एकता आवश्यक छ।”
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा बाढी तथा डुबानको उच्च जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे। पहाडी जिल्लाहरूमा भने भूकम्पको जोखिम उच्च रहेको जानकारी पनि दिए।
परराष्ट्र मन्त्रालय जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोगमा, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (CSSD) को साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो। कुल लागत एक करोड २१ लाख ८१ हजार ९२९ रुपैयाँ रहेको यस भवनमा बाढी तथा अन्य विपद्को अवस्थामा स्थानीयवासीलाई सुरक्षित आश्रय प्रदान गर्न सकिने छ।



