काठमाडौं – नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह ‘एफ’ बाट बाहिरिएको हो।
समूह अन्तर्गतको अन्तिम खेल निर्धारित ९० मिनेटसम्म ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो।
टाइब्रेकरमा नेपालका गीता राना र सबिता रानामगरले गोल गरे तर कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र गोलकिपर अञ्जना रानामगरको प्रहार सफल हुन सकेन। त्यसैले नेपालको सपना टाइब्रेकरमै चकनाचुर भयो।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन ग¥यो र दोस्रो मिनेटमै पहिलो गोल गर्दै अग्रता बनायो। ११औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले आफ्नो अग्रता दोब्बर बनायो । उज्बेक कप्तानको प्रहार नेपाली डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भएको थियो।
नेपालका लागि पहिलो गोल २४औं मिनेटमा सावित्रा भण्डारीले गरिन्। डिबक्स बाहिरबाट गरिएको उनको शक्तिशाली प्रहारले स्कोर २–१ बनायो।
तर ३८औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गरिन्। पेनाल्टीबाट शोएमोभले गोल गर्दै उज्बेकिस्तानलाई ३–१ को अवस्थामा पुर्याइन्।
दोस्रो हाफमा उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। उज्बेक खेलाडी इग्रासेभाले सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेकी थिइन्। त्यसपछि नेपालले पुनरागमनको प्रयासलाई सफलतापूर्वक अघि बढायो। ७१औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् र त्यसको दुई मिनेटमै ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याइन्।
तर अन्तिममा पेनाल्टीमा चुक्दा नेपाली महिला टोलीको एतिहासिक पुनरागमनको सपना अधुरै रह्यो।
